लाजेहाङको आज अन्त्यष्टी हुँदै, धरान र इटहरीमा श्रद्धाञ्जली सभा सम्पन्न

विराटनगर । प्रदेशको नामकरणको विरोधमा घाइते भई ज्यान गुमाउनुभएका पदम लिम्बु लाजेहाङको आज अन्त्यष्टी हुँदै छ ।

अन्त्यष्टी अघि धरान, इटहरी र विराटनगरमा श्रद्धाञ्जली सभाको आयोजना हुँदैछ । धरान र इटहरीमा श्रद्धाञ्जली सभा सम्पन्न भइसकेको र अब केही बेरमै विराटनगरमा श्रद्धाञ्जली सभाको आयोजना हुने सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले बताउनुभयो ।

विराटनगरमा श्रद्धाञ्जली सभा सम्पन्न गरी लाजेहाङको अन्यष्टी भने बेलबारीमा रहेको किराँत राई यायोख्खाको धार्मिक बन क्षेत्रमा गर्ने तयारी रहेको किराँत राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष तिलक राईले बताउनुभयो ।

कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भई ज्यान गुमाउनुभएका लिम्बुलाई सरकारले सहिद घोषणा गरेको छ । पहिचान आधारमा प्रदेशको नाम राखिनु पर्ने र कोशी प्रदेशको पुन नामकरण हुनुपर्ने माग सहित गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनका उहाँ घाइते हुनुभएको थियो ।

झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो । टाउकोमा चोट लागेपछि उहाँलाई चैत ८ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिए पनि १० गते उहाँको मृत्यु भएको थियो ।

यसपछि प्रदेश पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले उहाँलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए ।

लाजेहाङलाई सङ्घीय सरकारले सहिद घोषणा गर्ने र उहाँको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि उहाँको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

Back to top button