पदम लिम्बूको श्रद्धाञ्जलीसभामा विराटनगरमा झडप (हेरौं भिडियोसहित)

विराटनगर । कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा घाइते भई मृत्यु भएका पदम लिम्बू ‘लाजेहाङ’ को अन्त्यष्टिअघि आयोजना गरिएको श्रद्धाञ्जलीसभाका क्रममा विराटनगरमा झडप भएको छ ।

कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय नजिक रहेको विराटनगरको रोडशेष चोकमा पदमको शवयात्रामा सहभागी र प्रहरीबीच झडप भएको हो ।

श्रद्धाञ्जलीसभास्थलबाट मुख्यमन्त्री कार्यालयतिर प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि प्रहरीले रोक्दा झडप भएको हो । प्रहरीले निषेधित क्षेत्र प्रवेश गर्न रोक्दा प्रदर्शनकारीले ढुंगामुढा गर्दै आक्रमण गर्न थालेपछि सुरक्षाकर्मीले लाठी र अश्रुग्यास हानेका छन् ।

झडपका कारण करिब २ घण्टा रोडशेष चोक क्षेत्र तनावग्रस्त बन्न पुग्यो । बेलबारीमा अन्त्यष्टि गर्नुअघि पदमको शवयात्रासँगै धरान, इटहरी र विराटनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो ।

Back to top button