चितवन–२ मा कांग्रेस उम्मेदवार श्रेष्ठद्वारा मतदान, रवि र रामप्रसादले भोट हाल्न नपाउने

चितवन । चितवन क्षेत्र नम्बर–२ मा पनि उपनिर्वाचनको मतदान जारी छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले चतुर्मुखी उच्च मावि शक्तिखोरबाट मतदान गर्नुभएको छ ।

तर, रास्वपाका उम्मेदवार रवि लामिछाने र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने त्यहाँ मतदान गर्न पाउनुहुने छैन् ।

रविको मतदाता नामावली काठमाडौंमा रहेकाले र एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर–३ मा रहेकाले उहाँहरुले उपनिर्वाचनमा भोट हाल्न नपाउने हुनुभएको हो ।

गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा चितवन क्षेत्र नं–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेको नागरिकता सर्वोच्च अदालतले खारेज गरिदिएसँगै उहाँको सांसद पद गुमेपछि त्यहाँ उपनिर्वाचन गरिएको हो ।

किरियापुत्री, ज्येष्ठ नागरिक लगायत पनि उत्साहपूर्ण ढंगले मतदानमा सहभागी भइरहेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चितवन–२ मा ४३ स्थलका १ सय ३८ केन्द्रमा मतदान भइरहेको छ । यहाँ १ लाख २४ हजार ६ सय ९५ जना मतदता छन् । ती मध्ये ६३ हजार २ सय ९१ महिला, ६१ हजार ४ सय ३ पुरुष र १ जना तेस्रो लिङ्गी रहेका छन् ।

मतदानका लागि बिहान सबेरैदेखि मतदान केन्द्रमा मतदाता लाइनमा बसेका छन् । दिउँसो गर्मी हुने भएकाले बिहानैदेखि मतदाता मतदानका लागि लाइनमा बसेका हुन् ।

यस्तै, उपनिर्वाचनको संवेदनशीलतालाई मध्यनजर गरी पश्चिमतर्फबाट चितवन आउने सवारी साधनलाई नवलपुरको गैंडाकोटमा नै रोकिएका छन् ।

दमकल, एम्बुलेन्स, खानेपानी ट्यांकर, दूध बोक्ने सवारीसाधन, शववाहन, फोहरमैला ओसार्ने सवारीसाधन, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको पत्रसहित चलेको सवारीसाधन र सूचना तथा प्रसारण विभागबाट जारी प्रेसपास भएका पत्रकार चढेको सवारी भने निर्वाध सञ्चालनमा छन् ।

Back to top button