चितवनको एक मतदान केन्द्रमा मतदान अवरुद्ध

भरतपुर । चितवनको एक मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। भरतपुर ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालयमा मतदानस्थल अवलोकन गर्न रास्वपाका सभापति रवि लामिछाने पुगेपछि अन्य दलका कार्यकर्ताले अवरोध र होहल्ला गरेपछि दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य दीपक बोहोराले बुथ अबलोकन गर्न जाँदा भरतपुर ११ मा आफूहरुमाथि आक्रमण भएको बताउनुभयो ।

रवि लामिछाने मतदानस्थल पुगेपछि उहाँका समर्थकहरूले नाराबाजी गरेका थिए । रविका समर्थकले नाराबाजी गरेपछि अन्य दलका समर्थकहरूले मतदान भइरहेका बेला नाराबाजी गर्न नपाइने बताएपछि विवाद सृजना भएको थियो। त्यसपछि करिब १ घन्‍टा मतदान स्थगित भएको थियो।

सर्वदलीय बैठक बसेर मतदान सञ्चालन गर्ने तयारी भइरहेका बेला कांग्रेस र एमालेले प्रतिनिधि बस्न मानेनन्। प्रतिनिधिविना मतदान सञ्‍चालन गर्न खोजेपछि कांग्रेस र एमालेले अवरोध गरेपछि अहिले मतदान रोकिएको हो। मतदान प्रक्रिया सुरू गर्नेबारे छलफल भइरहेको छ।

Back to top button