उपनिर्वाचनः ३ क्षेत्रमा कहाँ कति मत खस्यो?

काठमाडौं । प्रतिनिधिसभा सदस्य चयनका लागि ३ निर्वाचन क्षेत्रमा उपनिर्वाचन जारी छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा मतदान भइरहेको छ ।

दिउँसो २ बजेसम्म चितवनमा ५१ प्रतिशत मत खसेको छ। चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ।

चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उहाँको सांसद पद गुमेको थियो। रिक्त सोही स्थानका लागि पुनः मतदान हुन लागेको हो।

यस्तै, बारा–२ मा ३८ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ।

बारामा जसपाका उपेन्द्र यादव, जनमतका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल, आमजनता पार्टीका अरुण ज्ञवालीलगायत उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ। उपराष्‍ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा–२ मा उपनिर्वाचन भएको हो।

यस्तै, तनहुँमा ४० प्रतिशत मत खसेको छ । तनहुँमा कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल, रास्वपाका डा.स्वर्णिम वाग्लेलगायत प्रतिस्पर्धी चुनावी मैदानमा हुनुहुन्छ।

तनहुँ–१ का प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त स्थानका लागि उपनिर्वाचन भएको हो। बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ ।

अहिले चितवनको २ वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको छ । चितवनको भरतपुर–११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यमिक विद्यालय र भरतपुर–७ को कृष्णपुर मावि मतदान केन्द्रमा मतदान रोकिएको हो । त्यहाँ मतदान प्रक्रिया अघि बढाउन माग गर्दै मतदाता नाराबाजी गरिरहेका छन्।

यस्तै, मतदान सकेसँगै मतगणना सुरू गर्ने आयोगको तयारी छ ।

Back to top button