अबको केही दिनमै समाजवादी मोर्चा गठन हुन्छ : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको केही दिनभित्रै समाजवादी मोर्चा गठन गर्ने घोषणा गर्नुभएको छ ।

आज कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा नेकपा एकीकृत समाजवादीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उहाँले समाजवादी मोर्चामार्फत नै कम्युनिष्ट ध्रुवीकरण सुरु हुने समेत बताउनुभयो।

प्रचण्डले विभिन्न कारणले यसअघि नेकपा दुर्घटना परेको उल्लेख गर्दै लाखौं कार्यकर्ता र जनताले अनुमोदन गरेको नेकपातर्फ फर्किन पहल गरिने धारणा राख्नुभयो। मोर्चा र एकताको अभियान सुरु गरेपछि एमालेभित्रै पनि डिवेट सुरु हुने प्रचण्डले बताउनुभयो।

उहाँले आग्रह वा पूर्वाग्रहमा नगई देशको आवश्यकतालाई मध्यनजर गर्दै कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर अघि बढाउनुपर्ने बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम र बजेट मार्फत देशलाई नयाँ आशा र विश्वास दिने गरी सरकारले तयारी गरिरहेको बताउनुभयो। उहाँले आफ्नो विदेश भ्रमण हुन लागेको भन्दै त्यसको तयारीमा लागेको पनि धारणा राख्नुभयो।

Back to top button