निर्वाचन आयोगले सोध्यो रविलाई स्पष्टीकरण

चितवन । हिजो भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं–२ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण सोधेको हो ।

निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले हिजो स्पष्टिकरण सोधिएको र हिजो नै जवाफ आएको बताउनुभयो । उहाँका अनुसार प्राप्त जवाफ निर्वाचन आयोगमा पठाइएको छ ।

निर्वाचन भइरहेको समयमा रास्वपाका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत् मत मागेको,मतदानस्थलमा हूलहुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो ।

उजुरीमा निर्वाचन ऐन,निर्देशिका,कार्यविधि र निर्देशनबमोजिम दोषीमाथि कारबाहीको माग गरिएको छ ।

यस्तै, दलहरूबीच विवाद सृजना भएपछि चितवन–२ को मतगणना अझैं सुरू भएको छैन।

Back to top button