बारा–२ उपनिर्वाचनः मतगणना पुनः सुरु

काठमाडौं । बारा क्षेत्र नम्बर–२ को उपनिर्वाचनको मतगणना पुनः सुरु भएको छ ।

मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब १ घण्टा मतगणना रोकिएको थियो । उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको हो ।

सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँड्नुभएको थियो । त्यसपछि जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाहाले पनि चाबी लिएर हिँडेपछि मतगणना रोकिएको थियो ।

चाबी लिएर हिँडेका प्रतिनिधिहरुलाई तुरुन्त चाबी ल्याएर आउन आग्रह गर्दै निर्वाचन कार्यालयले माइकिङ नै गरेको थियो । ‘उनीहरु आएपछि करिब १ घण्टापछि मतगणना सुरु भयो,’ स्रोतले भन्यो ।

यस्तै, बारा–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, नेकपा एमालेका पुरुषोत्तम पौडेल, रास्वपाका रमेश खरेल र आम जनता पार्टीका अरुण ज्ञवाली लगायत प्रतिस्पर्धामा हुनुहुन्छ । हालसम्मको गणनामा अध्यक्ष यादवले अग्रता लिनुभएको छ ।

Back to top button