गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान

कास्की । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि आज आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनका लागि वैशाख १४ गते दिउँसो ४ बजे सम्मको समय दिनुभएको छ ।

मुख्यमन्त्री अधिकारीले वैशाख ९ गने सदनबाट विश्वासको मत नपाएपछि अधिकारी नेतृत्वको सरकार ढलेको थियो।

प्रदेश प्रमुख गुरुङले नेपालको संविधानको धारा १ सय ६८ को २ अनुसार सरकार गठनका लागि आहन गर्नुभएको हो । अधिकारी सरकार पनि यही धारा अनुसार गठन भएको थियो।

प्रदेश सभामा कुनै पनि दलको प्रष्ट बहुमत नभएको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने २ वा २ भन्दा बढी दलको समर्थन प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्न सक्ने कानुनी व्यवस्था छ।

मुख्यमन्त्रीका लागि माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे दुबैको दावी छ। दुबै पार्टीका दावीका कारण सरकार गठनमा विलम्ब भएको हो।

एमालेका खगराज अधिकारी नेतृत्वको सरकार माओवादी र राप्रपाकाको समर्थनमा बनेको थियो। गत पुष २५ मा मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारी चैत १० गते माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका थियो। पुष ९ गते संसद अधिवेशनमा अधिकारीको पक्षमा २४ मत पर्दा विपक्षमा ३५ मत परेको थियो।

Back to top button