जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन रवि लामिछानेको आग्रह

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा चितवन– २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले प्रतिष्पर्धि दलहरुलाई प्रतिशोधका लागि मतदाताको विवेक र जनमतको धज्जी उडाउने खालका टिप्पणी नगरिदिन आग्रह गर्नुभएको छ ।

आज सामाजिक सञ्जालमा उभारका लागि आभार भन्दै लामिछानेले चौतर्फी प्रहार र लान्छनाको जवाफ चितवन २ का मतदाताले दिएको समेत उल्लेख गर्नुभएको छ । यस्तै उहाँले कहिँपनि बधाईको कार्यक्रम नराखिदिन आग्रह गर्नुभएको छ ।

उहाँले थपिएको मतलाई थपिएको जिम्मेवारी भन्दै आफु सिधै काममा लाग्न चाहेको बताउनुभएको छ । लोकतान्त्रिक प्रतिस्पर्धामा रहेका दल र तिनका उम्मेदवारहरुलाई सदा साथमै लिएर चितवन २ का नागरिकको आकांक्षा पूरा गर्न सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले जनप्रतिनिधिको रुपमा दलगत आस्था र चुनावी प्रतिस्पर्धाको घेराभित्र कहिल्यै नरहने समेत बताउनुभएको छ । चितवन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा लामिछाने ५४ हजार १७६ मतसहित विजयी हुनुभएको हो ।

Back to top button