बारा–२ उपनिर्वाचनः रास्वपाका रमेश खरेलको जमानत जफत

वीरगन्ज । यहि बैशाख १० मा भएको निर्वाचनमा बारा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारको जमानत जफत भएको छ।

उपनिर्वाचन भएको तनहुँ–१ र चितवन–२ मा ऐतिहासिक जित हात पारेको रास्वपाले बारा–२ मा भने आफ्ना उम्मेदवारको जमानत जोगाउनपनि नसकेको हो।

बारा–२ मा आज बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार रास्वपाका उम्मेदवार रमेश खरेलसहित ३१ जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचनमा कूल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ।

बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार गत आइतबार भएको मतदानमा ६९ हजार २२ मत खसेकोमा मतगणनाका क्रममा ६८ हजार १ सय ९२ मत सदर भएको थियो।

त्यसमा रास्वपाका उम्मेदवार खरेलले चौथों स्थानमा रहँदै २ हजार ८ सय २९ मत मात्रै प्राप्त गर्नुभएको छ । कूल सदर मतको ४ दशमलव १४ प्रतिशत मात्रै मत पाउनुभएकाले उहाँको जमानत जफत भएको हो।

बारा–२ मा दलका १० र स्वतन्त्र २४ गरी कूल ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए। ती मध्ये ३ जना उम्मेदवारले मात्र १० प्रतिशत मत कटाएका छन्। बारा–२ बाट विजयी हुनुभएका सत्तागठबन्धनबाट जसपाका अध्यक्ष उपेन्द्र यादव २८ हजार ४ सय १५ मत पाउनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३ सय ३४ मत पाउनुभएको छ । नेकपा एमालेका पुरूषोत्तम पौडेलले १० हजार २ सय १६ मत पाउनुभएको छ ।

खरेलसहित ३१ जना उम्मदवारको भने जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिनुभयो। प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरूणकुमार ज्ञवाली २ हजार ७ सय ३८ मत ल्याएर पाँचौ स्थानमा रहनुभयो। उहाँले पनि जमानत जोगाउन सक्नुभएन्।

यस्तै, जमानत जफत हुनेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल प्रसाद साह तेली, नागरिक उन्मुक्ति पार्टीका कमरूल्लाह अन्सारी, नेपाल मजदुर किसान पार्टीका मुक्तिप्रसाद यादव ,नेपाल संघीय समाजवादी पार्टीका नेजारूल अन्सारी, मंगोल नेशनल अर्गनाइजेसनका प्रमोद राम चमारसँगै स्वतन्त्र सबै २४ जना उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृत उपाध्यायले जानकारी दिनुभयो।

Back to top button