संसदीय समिति गठनमा ढिलाइ,भोलिसम्म नाम पठाउन सभामुख घिमिरेको आग्रह

काठमाडौं । संसदीय सुनुवाइलगायतका विषयगत समिति गठनमा ढिलाइ हुने भएको छ । प्रमुख तीन दलले सांसदहरूको नाम नपठाएपछि संसदीय सुनुवाइलगायतका समिति गठनमा ढिलाइ हुने भएको हो ।

आज तीन बजे डाकिएको प्रतिनिधिसभा बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यको मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची थियो।

संसद् बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिमा दलहरूले आफ्ना प्रतिनिधिको नाम दिएनन् । सभामुख देवराज घिमिरेले भोलिसम्म नाम दिन आग्रह गर्नुभएको छ ।

सभामुख घिमीरेले भन्नुभयो,‘तपाईंहरूले नाम (संयुक्त,विषयगत,विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू) दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’

उहाँले संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नै पर्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘संसदमा उठेका विषयमा मन्त्रीहरूलाई जवाफ दिन समन्वय गरिरहेका छौं । आज पनि गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा बोल्दै हुनुहुन्छ ।’

प्रमुख राजनीतिक दलहरूबीच संसदका विषयगत समितिको भागबण्डामा सहमति भइसकेको छ।

Back to top button