अपराध रोक्न काठमाडौंका सबै ठाउँमा सिसिटिभी जोड्न आवश्यक : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंका सबै ठाउँका सिसीटिभीको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

काठमाडौंमा दिनदहाडै हत्या हुने क्रम बढदै गइरहेको उल्लेख गर्दै उहाँले शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन संघीय सरकार र काठमाडौं महानगरपालिकाले मिलेर सबै ठाउँमा सिसीटिभी जडान गर्न आवश्यक रहेको बताउनुभयो ।

आज प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै महामन्त्री थापाले कपनस्थित सरस्वती नगरमा एक महिलाको दिनहदाडै हत्या भएको ७ दिन बित्दा लाग्दा पनि सरकारले घटनाको सत्यतथ्य बाहिर ल्याउने र दोषीलाई कारबाही गर्ने काम गर्न नसकेकोमा आक्रोशसमेत व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो,‘छुरी प्रहार गरेर हत्या भएको ७ दिन भयो । प्रहरी कार्यालय र गृह मन्त्रालय धाइरहनु भएको छ । तर उहाँहरुले ठोस जवाफ पाउनु भएको छैन ।

आज संयोगले माननीय गृहमन्त्रीज्यू संसदमा उपस्थित हुनुहुन्छ । म आग्रह गर्न चाहन्छु सम्माननीय सभामुख महोदयमार्फत घटनाको सत्यतथ्य र सबभन्दा ठूलो कुरा दिनदहाडै हत्या भएको सन्दर्भमा यहाँका नागरिकहरुले जुन विश्वास गर्न नसक्ने अवस्था बनेको छ ।

यसको बारेमा विश्वास गर्न गर्न स्थिति माननीय गृहमन्त्रीज्यूले बनाई दिनुहोस् । र, यसको तथ्य सातसात दिनसम्म पनि पत्ता लगाउन सकिएको छैन । शिघ्राधिशिघ्र यो घटनाको दोषी बाहिर आओस् भन्ने माग गर्दछु ।’

Back to top button