मेयर कोइरालाद्वारा शाखा र महाशाखाहरूको आकस्मिक अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले आज विभिन्न शाखा र महाशाखाहरूको आकस्मिक अनुगमन गर्नुभएको छ ।

आन्तरिक सुशासन कायम नगरेसम्म जनताका गुनासो सम्बोधन गर्न नसकिने धारणा राख्दै आउनु भएका मेयर कोइरालाले आकस्मिक अनुगमन गर्नुभएको हो ।

मेयर कोइरालाले महानगरको आर्थिक प्रशासन, राजस्व, शिक्षा, स्वास्थ्य, वातावरण, सरसफाई, कानुन, सूचना, सहकारीलगायतका शाखा र महाशाखाको अनुगमन गर्नुभएको हो ।

त्यसक्रममा उहाँले कार्यालयमा कर्मचारीको उपस्थितिको अवस्था, सेवाग्राहीका समस्यालगायतका विषयमा जानकारी लिनुभएको छ ।

नवोदितका अनुसार मेयर कोइरालाले कर्मचारीका समस्याका बारेमा पनि जानकारी लिनु भएको थियो । उहाँले गुनासो नआउने गरी जनताको सेवामा समर्पित हुन कर्मचारीहरूलाई निर्देशनसमेत दिनुभयो ।

मेयर कोइरालाले बेला–बेला शाखा र महाशाखाहरूको अनुगमन गर्दै आउनु भएको छ । अनुगमनका क्रममा एउटै कर्मचारी पटकपटक कार्यकक्षमा अनुपस्थित भेटिए कारबाही गरिने मेयर कोइरालाले प्रष्ट पार्नुभयो । आजको अनुगमनका क्रममा केही कर्मचारी विदामा बसेको पाइएको थियो ।

Back to top button