लेटाङका एक वृद्धले विराटनगरमा गरे आत्मदाहको प्रयास

विराटनगर । विराटनगरमा १ जना वृद्ध पुरुषले आफ्नै शरिरमा पेट्रोल छर्किएर आगो लगाउनुभएको छ ।
मोरङको लेटाङ नगरपालिका–७ घर रहेका ६५ वर्षीय गोविन्दप्रसाद नेपालले बिहान १०ः४० बजेतिर पेट्रोल छर्किएर शरीरमा आगो लगाएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिनुभयो ।
आगोले नेपालको शरीरका अधिकांश भाग जलेको छ । उहाँको विराटनगरस्थित नोवेल अस्पतालबाट थप उपचारका लागि रेडक्रस अस्पताल तथा ट्रमा सेन्टर लगिएको छ ।
सुरुमा नेपालले ग्यालेनमा पेट्रोल लिएर आएको र विराटनगर–४ स्थित तित्रिगाछीमा पुगेपछि आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी दाहालले बताउनुभयो ।
उहाँका अनुसार स्थानीयले मानिस जलिरहेको देखेपछि प्रहरीलाई खबर गरेर पानी हालेर आगो निभाई दिएका थिए । बोल्न नसक्ने अवस्थामा रहनुभएका नेपालले बोकेको झोलामा फेला परेको नागरिकताका आधारमा उहाँको पहिचान खुलेको हो ।
झोलामा नागरिकतासहित अन्य कागजात पनि भेटिएको प्रहरीले जनाएको छ । गम्भिर अवस्थामा उपचार गराइरहनुभएका नेपालले आफ्नै शरिरमा किन आगो लगाउनुभयो भन्ने विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको उहाँको भनाई छ ।
यद्यपी आफन्तसँग लेनदेनको विवाद रहेको र सापटी दिएको पैसा उठाउन उहाँ पटक–पटक विराटनगर आइरहने गरेको पाइएको छ । पटक–पटक माग्दा पनि फिर्ता नपाएपछि आत्मदाहको प्रयास गरेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको डिएसपी दाहालले बताउनुभयो ।

Back to top button