लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका डिल्ली चौधरीद्वारा दाबी पेश

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले दाबी पेश गर्नुभएको छ । ८ दलीय गठबन्धनबाट कांग्रेसका चौधरीले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आग्रह गर्नुभएको थियो।

प्रदेश प्रमुख शेरचनले आह्वान गरेको सूचनाकै आधारमा चौधरीले तोकेकै समयमा दाबी पेस गर्नुभएको हो ।

यसअघि कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र १ स्वतन्त्र गरी ५३ सांसदहरूले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख शेरचनसमक्ष निवेदन दिएका थिए ।

आज पनि ५३ जनाको हस्ताक्षरसहित दाबी पेस गर्न लागिएको चौधरीको सचिवालयले जनाएको छ।

यस्तै, ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ जना र स्वतन्त्र १ सांसद रहेका छन् ।

Back to top button