सञ्चारसम्बन्धी सम्पूर्ण समस्या चाँडै समाधान गर्छौँ : सञ्चारमन्त्री शर्मा

काठमाडौं । नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्बन्धी सम्पूर्ण समस्या चाँडै समाधान गर्ने बताउनुभएको छ ।

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले सरकार कानुन निर्माणका विषयमा गम्भीर रहेको बताउनुभयो । ‘नीति तथा बजेट बनाउने तयारीमा छौँ, कम लगानीमा बढी प्रतिफल दिने योजनाका बारेमा छलफल भइरहेको छ’ उहाँले भन्नुभयो ।

मन्त्री शर्माले दाङमा सञ्चार नेटवर्कको समस्या भएको ठाउँको पहिचान गर्ने तथा सञ्चारसम्बद्ध समस्याको समाधान गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । ‘सार्वजनिक, सामाजिक स्थान र सरकारी विद्यालयमा सञ्चारको पहुँच पुर्याउन पहल भइरहेको छ’ उहाँले भन्नुभयो ।

मन्त्री शर्माले घोराही–तुलसीपुर ४ लेन सडक आयोजनाको काम नयाँ ढङ्गबाट थालनी गर्ने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो। सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्न खोजेको उहाँको भनाइ थियो ।

‘अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई व्ययभार बढेको छ, नागरिकलाई लाभ हुने आयोजनामा मात्र सरकारले ध्यान केन्द्रित छ’ उहाँले भन्नुभयो । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन, सीमा समस्या समाधान गर्न, राज्यको शासन प्रणाली व्यवस्थित बनाउने सवालमा सर्वदलीय सहमति जुटाउने गरी काम भइरहेको मन्त्री शर्माले बताउनुभयो ।

Back to top button