चुनाव हार्दैमा भाग्‍ने मान्छे होइन म, वडा–वडामा जनताको समस्या बुझ्न आउनेछु : जीतनारायण श्रेष्ठ

चितवन । वैशाख १० को उपनिर्वाचनमा चितवन क्षेत्र नं.–२ मा पराजित हुनुभएका नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले आफ्नो राजनीतिक यात्रा नरोकिने बताउनुभएको छ ।

कांग्रेस चितवनको पार्टी कार्यालयमा उपस्थित पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उहाँले आफू सामाजिक यात्रामा हिँडेको मान्छे रहेकाले चुनावमा हारेर भाग्ने मान्छे नरहेको बताउनुभएको हो ।

‘चुनावमा हारे पनि म जिल्लाका सबै समस्याहरू बोकेर सिंहदरबारदेखि बागमती प्रदेशसम्म आफैँ पुग्नेछु। मेरो हारको गम्भीर समीक्षा हुन्छ’, उहाँले भन्नुभयो,‘जीतनारायण हार्‍यो अब आउँदैन कतै आउँदैन भन्ने होइन वडा–वडामा जनताको समस्या बुझ्न आउनेछु।’

अप्ठ्यारोमा भाग्ने मान्छे कायर रहेको भन्दै उहाँले आफू डटेर जनताको सेवामा लाग्ने बताउनुभयो । श्रेष्ठ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पराजित हुनुभएको थियो।

लामिछानेले ५४ हजार १ सय ७६ मत प्राप्त गरेर विजयी हुँदा श्रेष्ठले ११ हजार २ सय ५१ मत मात्रै ल्याउनुभएको थियो।

Back to top button