कतारलाई ६८ रनले हराउँदै नेपाल बन्यो समूह विजेता

काठमाडौं । सन्दीप लामिछानेको पाँच विकेटको सहयोगमा नेपाल समूह ‘ए’को अन्तिम खेलमा कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेता बन्न सफल भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर एक सय ५७ रनको योगफल तयार गरेको थियो।

जवाफी ब्याटिङमा उत्रिएको कतारले २५.१ ओभरमा सबै विकेट गुमाउनुअघि ८९ रन मात्रै बनाउन सक्यो। नेपालको कसिलो बलिङसामू टिक्न नसकेको कतारका लागि खुराम सहजाद र जहिर इब्राहिमले १५–१५ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि सन्दिपले ९.१ ओभरमा १४ रन खर्चिएर तीन मेडनसहित सर्वाधिक पाँच विकेट लिनुभयो । यस्तै, सोमपाल कामीले सात ओभरमा २४ रन खर्चेर एक मेडनसहित तीन विकेट लिँदा ललित राजवंशीले दुई ब्याटरलाई पेभिलियन फर्काउनुभयो ।

पहिलो इनिङमा नेपालका लागि कप्तान रोहित पौडेलले २७ तथा सन्दीप लामिछानेले अविजित ४२ रन जोड्नुभएको थियो । त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन ।

कतारका लागि अमिर फारुकले ९.३ ओभरमा ४२ रन खर्चेर सर्वाधिक चार विकेट लिनुभयो । यस्तै, ओवाइस अहमदले तीन र गयान मुनाविराले दुई तथा इक्रामुल्लाह खानले एक विकेट लिनुभएको थियो ।

जितसँगै नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग भेट निश्चित गरेको छ। नेपालसँगै ओमान पनि अन्तिम चारमा पुगेको छ। अर्को समूहबाट यूएई सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ।

आज जारी कुवेत र हङकङबीचको खेलले अर्को टिमको टुङ्गो लगाउने छ।

Back to top button