मेयर हर्क साम्पाङलाई सच्चिन भन्दै धरानका युवा संगठनहरुले बुझाए ज्ञापनपत्र

सुनसरी । विधि र प्रकृया बिना काम गरेको र सामाजिक सञ्जालमा अमर्यादित शब्द प्रयोग गरेको भन्दै विभिन्न राजनीतिक दलका युवा संगठनहरूले धरानका मेयर हर्कराज राई (साम्पाङ)लाई सच्चिएर काम गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

नगर प्रमुखजस्तो ब्यक्तिले अमर्यादित भएर काम गर्दा धरानको विकास प्रभावित भएको भन्दै ८ वटा प्रश्नसहित ज्ञापनपत्र बुझाएका हुन् । आज तरुण दल, राष्ट्रिय युवा संघ, वाइसीएल, लिम्बुवान युवा मञ्च र समाजवादी युवा संगठनले मेयर राईलाई ज्ञापनपत्र बुझाएका हुन् ।

मेयर राईलाई ज्ञापनपत्र बुझाउन उपमहानगर पुगेका युवाहरूलाई सुरुमा सुरक्षाकर्मीले गेटभित्र प्रवेश गर्न नदिँदा केहीबेर तनाव समेत उत्पन्न भएको थियो। पछि मेयर साम्पाङ आफैं गेटसम्म आएर ज्ञापन पत्र बुझेपछि स्थिति सामान्य बनेको थियो।

मेयर राईको गतिविधि अमर्यादित र असभ्य भएको भन्दै अबदेखि यस्तो नगर्न सचेत गराउँदै ज्ञापनपत्र बुझाएको संगठनका नेताहरुले बताएका छन् ।

पछिल्लो समय मेयर राईले सामाजिक सञ्जालमा झोले, गुइठेलगायतका अमर्यादित शब्द प्रयोग गर्दै पोष्ट गर्र्दै आउनुभएको थियो भने उपमहानगरपालिकामा कार्यपालिकाको नियमित बैठक समेत बस्न सकिरहेको छैन ।

Back to top button