लामिछाने र वाग्लेद्वारा शपथ ग्रहण

काठमाडौं । उपनिर्वाचनबाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

आज बिहान सिंहदरबारमा आयोजित समारोहमा उहाँहरूलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउनुभएको हो । सभामुख घिमिरेले शपथ खुवाउनुको साथै सांसदको लोगो समेत वितरण गर्नुभएको थियो।

लामिछाने चितवन–२ बाट र वाग्ले तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

यसअघि चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने नागरिकता विवादमा पदमुक्त भएपछि रिक्त सो स्थानका लागि बैशाख १० गते उपनिर्वाचन भएको थियो। उपनिर्वाचनबाट लामिछाने पुनःनिर्वाचित हुनुभएको हो ।

यसैगरी तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो स्थान खाली थियो। रिक्त सो स्थानका लागि उपनिर्वाचन भएको थियो। त्यहाँ रास्‍वपाबाट वाग्ले निर्वाचित हुनुभएको हो । वाग्लेले कांग्रेस त्यागेर उपनिर्वाचनमा रास्‍वपाबाट उम्मेदवारी दिनुभएको थियो।

यस्तै, बारा–२ बाट निर्वाचित ​​​​​​जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव शपथ समारोहमा सहभागी हुनुभएन्।

Back to top button