अयोग्य लडाकुलाई २ लाख दिने प्रस्ताव विष्णु पौडेल अर्थमन्त्री भएकै बेलाको हो : माधव सापकोटा

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले अयोग्य लडाकुलाई २ लाख दिने प्रस्ताव एमाले नेता विष्णु पौडेल अर्थमन्त्री भएकै बेला गरिएको बताउनुभएको छ । आज संसद बैठकमा यसबारे प्रश्न उठेको भन्दै उहाँले एमालेले यस विषयमा भ्रम फैलाएको बताउनुभयो।

‘सर्वोच्च अदालतको परिपत्र अनुसार अहिलेको सरकारले मात्र कार्यविधि विकास गर्न खोजेको हो। हामी हावाको भरमा, सत्य तथ्यको खोजबिन नगरी, प्रतिक्रियाका भरमा अरुलाई दोषारोपण गरिरहेका छौं। त्यसैले म स्पष्ट पार्न चाहन्छु, माननीय विष्णु पौडेलकै नेतृत्वमा ल्याइएको बजेट–नीति तथा कार्यक्रमको १९ नम्बरमा बुँदमा यो कुरा उल्लेख छ।’

उहाँले एमालेले सिंगो देश र सदनलाई भ्रमित पारेको आरोप लगाउनुभयो। उहाँले माओवादीले हतियार बोकेकै कारण अहिलेको व्यवस्था आएको भन्दै २ लाख दिने निर्णयको बचाउ गर्नुभएको थियो।

संसद बैठकमा एमालेका सांसदहरूले माओवादीका अयोग्य लाडाकुलाई २ लाख दिने निर्णय तत्काल फिर्ता लिन माग गरेका थिए।

Back to top button