पाँचथरबाट एमाले अध्यक्षको आह्वानः प्रदेशको नामका लागि आन्दोलन हैन विकास निर्माणमा जुटौं

पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रदेशको नाम कोशी राखिएपछि आन्दोलनरत पक्षलाई आन्दोलन छाडेर विकास निर्माणमा जुट्न आह्वान गर्नुभएको छ ।

आज फिदिममा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रदेशसभाबाट विधि र प्रक्रियामा छिरेर गरिएको नाम कुनै हालतमा फिर्ता नहुने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो,‘ विधि र प्रकृयाबाट नाम राखिएको सहजै फेरिने बिषय होइन त्यसैले आन्दोलन छोडेर विकास निर्माणमा जुटौं ।’

उहाँले प्रदेशको नामकरण परिवर्तन गर्न प्रदेशसभामा दुई तिहाई मतले संशोधन गर्दा मात्रै हुने भन्दै आन्दोलन छाड्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले जनताको मन जितेर दुई तिहाइ मतसहित संसद् छिरेर संशोधन गर्न सुझाव समेत दिनुभयो । नामकरण नगरि पहिलो कार्यकाल पूरा गरेको यस प्रदेशसभाले दोस्रो कार्यकालको प्रारम्भमा भने कोशी प्रदेश नामकरण गर्न सफल भएको हो ।

प्रदेशको नाम कोशी राखिएसँगै पहिचान पक्षधरहरुले आन्दोलन गर्दै आएका छन् । आन्दोलन हिंसात्मक भएको भन्दै त्यसको सर्वत्र विरोध समेत हुँदै आएको छ ।

Back to top button