महावीरको धर्नामा ऐक्यबद्धता जनाउँदै राजेन्द्र लिङ्देन माइतीघरमा

काठमाडौं । सरकारसँग ४ बुँदै माग राख्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा जारी राखेको धर्नामा राष्‍ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्दनले ऐक्यबद्धता जनाउनुभएको छ ।

पुनको धर्नालाई समर्थन गर्दै अध्यक्ष लिङ्देन आज दिउँसो माइतीघर मण्डला पुग्नुभएको छ ।

अध्यक्ष लिङ्देनले धर्नामा आफूहरूको पूर्णसमर्थन रहेको जनाउनुभयो। उहाँले भन्नुभयो,‘सामाजिक आन्दोलनका नायक पुनले गर्नुभएको आन्दोलन सकारात्मक छ।

सरकारले आफै अग्रसर भएर गर्नुपर्ने काम,राजनीतिक दलहरूले उठाउनु पर्ने कुरा, एउटा व्यक्तिले उठाउनु भएको छ। यो व्यक्तिगत विषय नभइ भावी सन्ततिका लागि अनुसन्धान नवप्रवर्द्धकको कुरा हो। यो हाम्रो सन्तति र देशको भविष्यसँग गाँसिएको विषय हो।’

अध्यक्ष लिङ्देनले माग पूरा नभएसम्म आफ्नो ऐक्यबद्धता र साथ रहने बताउनुभयो।

पुनले समर्थकको सहयोगमा रातदिन धर्ना जारी राख्नुभएको छ । उहाँले माग पूरा नभएसम्म रातदिन आन्दोलन जारी राख्ने अडान लिनुभएको छ । पुनले गत शुक्रबारबाट माइतीघरमा सरकारविरुद्ध धर्ना सुरू गर्नुभएको हो ।

उहाँले अनुसन्धान,नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीलाई अनुसन्धान गर्ने काममा ठोस सहयो गर्न हरेक वर्ष संघ र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुटयाउनु पर्ने र त्यो रकम नवप्रवर्तक र आविष्‍कार कोषमा राख्नुपर्ने माग गर्नुभएको छ ।

अनुसन्धान केन्द्र र विश्वविद्यालयमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्धन गर्नका लागि विज्ञान मन्त्रालयअन्तर्गत व्यावहारिक अनुसन्धान र नवपवर्तन विभाग खोल्न समेत माग गर्नुभएको छ ।

Back to top button