दर्शकले चाहनुभयो भने सक्रिय राजनीतिमा आउँछु : अभिनेता हमाल

काठमाडौं । अभिनेता राजेश हमालले सक्रिय राजनीतिमा लाग्ने विषय ‘पर्ख र हेर’मै रहेको बताउनुभएको छ । एक टेलिभिजनसँगको अन्तर्वार्तामा उहाँले अहिले चुनाव जितेर आएका व्यक्तिलाई पनि यही कुरा लागू हुने बताउनुभएको हो ।

‘यदि अहिलेको राजनीति जुन हिसाबले चल्नुपर्ने हो, त्यसरी ठीक ढंगले चलेन भने म राजनीतिमा आउन सक्छु,’ उहाँले भन्नुभयो ।

आफूलाई हालैको चुनावमा उम्मेदवार बन्न दलहरुले प्रस्ताव राखेको खुलाउँदै हमालले अहिले उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुलाई पनि पर्ख र हेरको रुपमा आफूले लिएको बताउनुभयो ।

उहाँले रास्वपा सभापति रवि लामिछानेलाई जनताको चाहनाअनुसार चल्न पनि सुझाव दिनुभयो । ‘डेलिभरी’ हुने जनअपेक्षाका कारण नयाँ दल उदाएको हमालको तर्क छ । ‘बाहिरबाट हेर्दा जनताले व्यक्तिलाई चाहेजस्तो देखिन्छ तर त्यसो होइन । व्यक्ति नेताको भाषण सुन्न जाने होइन । व्यक्तिको मुखबाट हाम्रो कुरा सुन्न आउँछ कि आउँदैन भनेर हो,’ उहाँले भननुभयो ।

राजनीतिज्ञ र कलाकार हरेक समय सान्दर्भिक हुनुपर्ने उहाँले बताउनुभयो । ‘मैले कलाकारिता गर्दा सोचिनँ कि राजेश हमाललाई नै हेर्न आएको हो । यो भ्रममा म कहिल्यै परिनँ । उहाँहरुले मबाट राख्ने अपेक्षालाई हेर्न आउनुभएको हो । त्यो सफल भयो भने उहाँहरुको नजरमा म सान्दर्भिक रहन्छु । जुन दिन डेलिभर गर्न सक्दिन, म सान्दर्भिक रहँदिन,’ उहाँले भन्नुभयो ।

हरेक कालखण्डमा नयाँ दल आउने र जाने भइरहेको उदाहरण प्रस्तुत गर्दै उहाँले समयसापेक्ष रुपमा सान्दर्भिक हुने मात्र टिक्न सक्ने बताउनुभयो। ‘२००७ सालदेखि नै पुराना र नयाँ दल आउने जाने क्रम जारी छ । हालैका चुनावबाट उदाएका दललाई लिएर म पर्ख र हेरको मुडमा छु,’ उहाँले भन्नुभयो,‘राजनीति अटोपाइलटमा हुनुपर्छ, म्यानुअलमा होइन ।’

अभिनेता हमालले कुनै दलमा आबद्ध नभई स्वतन्त्र रुपमा समेत राजनीति गर्ने बताउनुभयो । ‘दर्शकले चाहनुभयो भने सक्रिय राजनीतिमा आउँछु,’ उहाँले भननुभयो,‘गरें भने स्वतन्त्र रुपमा राजनीति गर्छु ।’

Back to top button