अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १३४ औ विश्व मजदुर दिवस तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा विश्वभरी छरिएर रहने नेपाली श्रमजिवी दाजुभाइ, दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।

दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले नेपालको हरेक राजनीतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले खेलेको भूमिकाको चर्चा समेत गर्नुभएको छ ।

श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गरेको चर्चा गर्दै उहाँले २००७ सालमा कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरबाट नै श्रमिक मजदुरहरुले प्रजातन्त्रको बिगुल फुकेको स्मरण गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ,‘नेपाली समाजको युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति आजको विशेष दिनमा म उच्च सम्मान प्रकट गर्दछु ।’

यस्तै उहाँले नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको भन्दै ति ऐन कानुनहरुको पूर्ण कार्यान्वयनका लागि आवश्यक भूमिका निर्वाह गर्न कोशी प्रदेश सरकार पूर्णरुपमा प्रतिवद्ध रहेको समेत बताउनुभएको छ ।

मुख्यमन्त्री कार्कीले नेपाली श्रमिक र तिनका प्रतिनिधि ट्रेड युनियनहरुलाई श्रमिकहरुको हकहित संरक्षणका निम्ति संगठित र एकतावद्ध भएर अघि बढ्न सफलता मिलोस भन्ने कामना समेत गर्नुभएको छ ।

आफ्नो अधिकारको माग गर्दै अमेरिकाको शिकागो शहरमा मजदुरहरुले गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका श्रमिकहरुको सम्झनास्वरुप सन १८८९ को मे १ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो ।

आजको दिनलाई विश्वभरीका मजदुर तथा श्रमजीवी वर्गले आफ्नो आन्दोलनको महत्वपूर्ण उपलब्धि– ८ घण्टा काम, ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकार प्राप्तिको दिनको रुपमा स्मरण गर्ने गर्दछन् ।

मजदुर दिवसका दिन सार्वजनिक विदा समेत दिइएको छ ।

Back to top button