एसीसी मेन्स प्रिमियर कपः उपाधीका लागि नेपाललाई ११८ रनको लक्ष्य

काठमाडौं । नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलको उपाधि रक्षाका लागि १ सय १८ रनको लक्ष्य प्राप्त गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा हिजो सुरु भएर वर्षाका कारण टुङ्गिन नपाएको फाइनल खेल आज ९ बजेदेखि हिजो रोकिएकै अवस्थाबाट सुरु भएको हो। जसमा यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १७ रनमा सिमीत बन्न पुग्यो ।

हिजो यूएईले २७.३ ओरभमा एक सय ६ रन बनाएर ९ विकेट गुमाएको थियो। यूएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाउनुभयो । अन्य ब्याटरको उल्लेख्य प्रदर्शन रहन सकेन ।

नेपालका लागि किफायती बलिङ गर्नुभएका ललित राजवंशीले ७.१ ओभरमा १४ रन खर्चिएर दुई मेडनसहित सर्वाधिक ४ विकेट लिनुभयो । यस्तै, करण केसी र सन्दीप लामिछानेले २–२ तथा गुल्शन झा र सोमपाल कामीले १–१ विकेट लिनुभयो ।

Back to top button