एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि नेपाललाई

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप क्रिकेटको फाइनलमा नेपाल यूएईलाई सात विकेटले पराजित गर्दै एसिया कपमा छनोट भएको छ। त्रिवि क्रिकेट मैदानमा हिजो सुरु भएको फाइनल खेल आज सम्पन्न भएको हो ।

टस हारेर ब्याटिङ थालेको यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाउनुअघि १ सय १७ रनको योगफल तयार गरेको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३०.३ ओभरमा मात्रै तीन विकेट गुमाएर एक सय १८ रनको लक्ष्य पूरा गर्यो।

नेपालका लागि वान् डाउनमा क्रिजमा उत्रिनुभएका गुल्शन झाले ७५ बलमा अर्धशतक पूरा गर्नुभयो । दुवै ओपनर र कप्तानलाई सस्तैमा गुमाएको नेपालका लागि गुल्शनले संयमित ब्याटिङ गर्दै ५० रन बनाउँदा ३ चौका र ४ छक्का प्रहार गर्नुभयो ।

नेपालको इनिङ्समा सबैभन्दा महत्त्वपूर्ण भूमिका निभाउनुभएका झा ८४ बलमा तीन चौका र ६ छक्कासहित ६७ रनमा अविजित रहनुभयो । यस्तै गुल्शनसँग ९६ रनको साझेदारी गर्नुभएका भीम सार्कीले पनि महत्त्वपूर्ण इनिङ्स खेल्नुभयो ।

नेपालका लागि ७२ बलको सामना गर्नुभएका भीम ४ चौकासहित ३६ रनमा अविजित रहनुभयो । सुरुआतमा संघर्ष गरेको नेपालका दुवै ओपनर– कुशल भुर्तेल र आसिफ शेखसँगै कप्तान रोहित पौडेल पभिलियन फर्कनुभयो ।

कुशल एक, आसिफ आठ र रोहित एक रनमा आउट हुनुभएको हो । यूएईका लागि रोहन मुस्तफाले १० ओभरमा १३ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिनुभयो । आयान खानले एक विकट लिनुभयो ।

हिजो यूएईले २७.३ ओभरमा १ सय ६ रन बनाएर ९ विकेट गुमाएको थियो। आज बिहान सोही स्थानबाट इनिङ्स अगाडि बढाएको यूएई ३३.१ ओभरमा सबै विकेट गुमाउनुअघि १ सय १७ रनको योगफल तयार गर्न सफल भयो।

यूएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ४६ रन बनाउनुभयो । अन्य ब्याटरको उल्लेख्य प्रदर्शन रहन सकेन ।

नेपालका लागि किफायती बलिङ गर्नुभएका ललित राजवंशीले ७.१ ओभरमा १४ रन खर्चिएर दुई मेडनसहित सर्वाधिक चार विकेट लिनुभयो । करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा गुल्शन झा र सोमपाल कामीले एक–एक विकेट लिनुभयो ।

प्रिमियर कप च्याम्यिन भएसँगै नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाएको छ। नेपालले समूह ‘ए’को विजेताको रूपमा अन्तिम चारमा स्थान बनाएको थियो।

सेमिफाइनलमा कुवेतसँगका खेल पनि वर्षाका कारण नतिजाविहीन बनेपछि समूह विजेता नेपाल फाइनलमा आइपुगेको थियो।

Back to top button