गृह नेतृत्वलाई पैसा बुझाउनु पर्ने भन्दै इन्द्रजित राईले रकम उठाउँथेः प्रहरी

काठमाडौं । सर्वसाधारणलाई भुटानी शरणार्थी बनाइदिने भन्दै रकम उठाएको बलियो प्रमाणका आधारमा तत्कालिन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईले भुटानी शरणार्थी बनाइ अमेरिका पठाइदिने भन्दै सर्वसाधारणबाट पैसा असुलेको प्रमाण प्रहरीले फेला पारेको जनाएको छ । सोही प्रमाणका आधारमा आज बिहान ललितपुरस्थित आफ्नै निवासबाट राई पक्राउ पर्नुभएको हो ।

राईले गृहमन्त्री थापालाई समेत मिलाउनुपर्ने भन्दै नक्कली भुटानी शरणार्थी बनाइदिने प्रलोभनमा सर्वसाधारणबाट पैसा उठाउने गरेको प्रहरीले जनाएको छ । यद्यपी,प्रहरीले तत्कालिन गृहमन्त्री थापासँग भएको लेनदेनको प्रमाण भने भेटाएको छैन ।

अनुसन्धानमा खटिनुभएका एक प्रहरी अधिकृतका अनुसार राईले तत्कालिन गृहमन्त्री थापासहित त्यसबेलाका गृहका उच्च अधिकारीको नाम मुछेर पैसा उठाएको पाइएपनि तत्कालिन गृहमन्त्री र गृहका उच्च अधिकारीहरूले पैसा लिएको प्रमाण भने भेटिएको छैन ।

राईले पैसा उठाउनकै लागि मात्र तत्कालिन गृहमन्त्री थापालगायत उच्च अधिकारीहरूको नाम लिएको हुनसक्ने अनुसन्धानमा खटिएका अधिकृतको भनाई छ ।

यसअघि पक्राउ परेका केशव दुलाल, टंककुमार गुरुङ, सानु भट्टराई र सागर राईको बयानका आधारमा प्रहरीले थप अनुसन्धानका लागि राईलाई पक्राउ गरेको हो ।

राईले भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै पाँच करोड बढी रकम सर्वसाधारणबाट उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । राईसँगको बयानका आधारमा अन्य संलग्नहरू खुल्दै जाने प्रहरीले बताएको छ ।

Back to top button