वर्तमान गठबन्धन आगामी चुनावसम्म निरन्तर जान्छः माधवकुमार नेपाल

वीरेन्द्रनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धन आगामी चुनावसम्म नै निरन्तर जाने बताउनुभएको छ ।

एकीकृत समाजवादीले सुर्खेतमा आयोजना गरेको संगठन सुदृढीकरण विशेष अभियानको समीक्षा तथा कार्ययोजना कार्यान्वयन भेलालाई सम्बोधन गर्दै उहाँले बाम लोकतान्त्रिक गठबन्धन पाँच वर्षसम्म निरन्तर जाने ठोकुवा गर्नुभएको हो ।

‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,एकीकृत समाजवादीलगायतका परिवर्तनकारी राजनीतिक दलहरू मिलेर बनेको बाम लोकतान्त्रिक गठबन्धन अर्को निर्वाचनसम्म निरन्तर जान्छ,’ उहाँले भन्नुभयो ।

नेपाली जनताले संघर्ष गरेर ल्याएको परिवर्तन उल्ट्याउनका लागि गठबन्धन टुटाउन केही शक्तिहरू लागिपरेको आरोप लगाउँदै नेता नेपालले त्यो सम्भव नभएको बताउनुभयो ।

यस्तै नेता नेपालले नेकपा एमाले बाहेकका नेपालका कम्युनिष्ट शक्तिहरूबीचको एकता प्रक्रिया थालनी भइसकेको बताउनुभयो । उहाँले नेकपा माओवादी केन्द्रलगायतका दलहरू मिलेर समाजवादी केन्द्र बनाउने तयारीमा रहेको भन्दै ढिलो चाँडो नेपालमा समाजवादी केन्द्र बन्ने बताउनुभयो ।

यसरी बन्ने समाजवादी केन्द्र नेपालको बलियो राजनीतिक शक्ति र जनताको भरोसा गर्न लायक बन्ने दावी गर्नुभयो । भेलामा एकीकृत समाजवादी पाटीका केन्द्रीय महासचिव घनश्याम भुसालसहित एकीकृत समाजवादीका प्रदेशस्तरका नेता तथा सबै जिल्लाबाट नेतृत्वहरुको सहभागीता छ ।

भेलामा संगठन बलियो बनाउन संगठन सुदृढिकरण तथा विस्तार अभियान थप प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित रहेको एक नेताले बताउनुभयो ।

Back to top button