घरेलु टिम गाईघाट फुटबल क्लबलाई हराउँदै मोरङ सेमिफाइनलमा

उदयपुर । घरेलु टिमलाई हराउँदै पिएसडब्लुसी पथरी मोरङ उपमेयर गोल्डकप महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

सदरमुकाम गाईघाटमा जारी प्रतियोगिताको मंगलबारको अन्तिम क्वाटर फाइनलमा घरेलु टिम गाईघाट फुटबल क्लबलाई २–१ ले पछि पार्दै मोरङले सेमिफाइनलको यात्रा तय गरेको हो।

खेलको सुरुवाती चरणदेखि नै निकै दवावमा राखेको गाईघाटले पहिलो हाफको ७ औँ मिनेटमा मनिता तामाङको उत्कृष्ट प्रहार गोलमा परिणत भएपछि खाता खोलेको हो।

निकै नै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको ५१ औँ मिनेटमा मोरङको तर्फबाट सुप्रिया मियाँले जवाफी गोल गरेसँगै खेल बराबरीमा पुगेको थियो।

निर्धारित समय सीमामा बराबरीमा टुङिएको खेलमा थप गरिएको ५ मिनेट समयको सदुपयोग गर्दै सुप्रियाले थप एक गोल गर्दै जित निकाल्नुभएको हो । उहाँको अन्तिम प्रहार नै विजयीका लागि निर्णयक बन्यो।

२–१ को गोल अन्तर निकाल्नुभएकी मोरङकी सुप्रिया प्रतियोगिताको म्यान अफ दि म्याच घोषित हुनुभयो। उहाँलाई जिल्ला फुटबल संघका अध्यक्ष रन्जन कार्कीले नगद २ हजारले सम्मान गर्नुभयो।

मोरङको जीतसँगै अन्तिम क्वाटर फाइनल खेल समाप्त भएको छ। आजबाट सुरु हुने सेमिफाइनलको पहिलो खेल माउन्ट एभरेष्ट स्पोटिङ क्लब सुनसरी र अल इन वन क्लब झापाबीच प्रतिस्पर्धा हुने अध्यक्ष कार्कीले बताउनुभयो।

त्रियुगा नगरपालिका उपमेयर कोषको सहयोगमा उदयपुर फुटबल संघले आयोजना गरेको प्रतियोगितामा सुनसरी, सर्लाही, झापा, सप्तरी, मकवानपुर, मोरङ र उदयपुर गरी ८ टिम सहभागी रहेको छ।

यस्तै, प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार पाउने छ। त्रियुगा नगरपालिका युवा तथा खेलकुद विकास समितिको समन्वयमा सञ्चालित उपमेयर प्रतियोगिता उदयपुरकै लागि यो पहिलो हो।

Back to top button