उभौलीले मानव र प्रकृतिसँग सम्बन्ध झल्काउँछ, बुद्धजयन्तीले एकताको भावना जागृत गराउँछः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उभौली पर्वले मानव र प्रकृतिबिचको गहिरो सम्बन्ध झल्काउने बताउनुभएको छ ।

आज उभौली र बुद्धजयन्तीको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै उहाँले मानव र प्राकृतिसँग गोहिरो सम्बन्ध रहेको उभौली पर्वले सम्पूर्ण नेपालीबीच आपसी एकता, सहयोग र सद्भाव अभिवृद्धि गरी सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ ।

उभौली पर्व, प्रकृति पूजक वा धर्ती पूजकहरु, अर्थात नेपालका किराँती समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्वका रुपमा लिइन्छ । यसलाई ‘साकेला पर्व’ को रुपमा पनि चिनिने चर्चा गर्दै मुख्यमन्त्री कार्कीले उभौलीलाई ऋतु परिवर्तनको सङ्केत दिने पर्वको रुपमा पनि मनाउने गरिएको उल्लेख गर्नुभएको छ ।

एकमहिनासम्म मनाईने यस पर्वको पहिलो दिन ‘चण्डी नाच’ नाच्ने चलन छ जसमा प्रकृतिको आरधना गरिन्छ । यसरी ‘चण्डी नाच’ नाचिने पर्व भएकाले यस पर्वको पहिलो दिन ‘चण्डी पुर्णिमा’को नामले पनि परिचित छ ।

बालीनाली रोप्ने र लगाउने कार्य गर्ने यामलाई किराँतीहरुले ‘उभौली पर्व’ र बाली घर भित्राइने यामलाई ‘उद्यौली पर्व’को रुपमा मानिन्छ । यी दुबै याममा किराँती समुदायले प्रकृतिको पूजा–आजा गरी पर्वहरु मनाउने प्रचलन छ ।

यस समुदायले प्रकृतिमा रहेका रहेका हरेक तत्व जस्तै भूमि, जल, अग्नी, आकाश, वायु चन्द्र, सूर्य पशुपंक्षी र वनस्पतिको पूजा गर्ने गर्दछन् । मुख्यमन्त्री कार्कीले यस पर्वमा गरिने पूजाको मूल सन्देश भनेको सबै तत्वहरु प्रति आभारी रहेर बाँच्नु र सधै तिनीहरुसँग कृतज्ञ रहनु रहेको उल्लेख गर्दै भन्नुभएको छ, ‘जगतका हरेक प्राणीले ‘जगतबाट विच्छेद भएर होइन एकाकार भएर बाच्नुपर्छ’ भन्ने महत्वपूर्ण सन्देश दिएको छ ।’

यस्तै मुख्यमन्त्री कार्कीले गौतमबुद्धको जन्मजयन्तीका अवसरमा सबैलाई एक आपसमा मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् भन्दै राष्ट्रियता तथा पारस्परिक एकता र आपसी सद्भावलाई थप मजबुत बनाउन अभिप्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

यस्ता पर्वहरू सबै नेपाली मनहरुलाई राष्ट्रिय एकताको एउटै सुत्रमा बाध्ने माध्यम रहेको चर्चा गर्दै उहाँले सबैमा एकताको भावना विकास गराउन सहयोग पुगोस् भन्ने अपेक्षा राख्नुभएको छ ।

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६७ औं जन्मजयन्तीको अवसरमा उहाँले शुभकामना सन्देश जारी गर्दै उहाँले बुद्धको आदर्शलाई शिरोधार्य गरेर हिड्दा विश्व जगतलाई शान्ति, सत्यता, अहिंसा अनि सरलताका लागि उत्प्रेरणा जगाउँने बताउनुभएको छ ।

बैशाख शुक्लपक्षको पूर्णिमाको दिन गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एकैदिन परेको छ । जसले गर्दा यस तिथिलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूले गौतम बुद्धप्रति भक्तिभाव व्यक्त गर्ने पावन दिनका रूपमा बुद्ध जयन्ती मनाउने गर्दछन् । लुम्बिनीमा जन्मेका सिद्धार्थले बोधगयामा बुद्धत्व प्राप्त गरी सारनाथमा पाँचजना भिक्षुलाई उपदेश दिएर शुरु गरेको (धर्मचक्र प्रवर्तन) बौद्ध धर्म अहिले विश्वका प्रमुख धर्महरूमध्ये एक भएको छ ।

Back to top button