वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर छौं : प्रधानमन्त्री प्रचण्ड

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना असीमित रहेको बताउनुभएको छ । २५६७औं बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार वृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेको बताउनुभयो ।

लुम्बिनीसँगै कपिलवस्तु, देवदह, रामग्रामलाई समेटेर वृहत्तर लुम्बिनीको रुपमा विकास गरिने उल्लेख गर्दै प्रधानमन्त्रीले तिलौराकोट पनि विश्व सम्पदा सूचीमा सुचीकृत हुने क्रममा रहेको बताउनुभयो ।

क्रान्ति र शान्ति एक अर्काका पूरक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तर यसलाई बुझ्ने र ग्रहण गर्नेमा एकरुपता हुन नसकेको बताउनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संसारका कसैले पनि लुम्बिनीको फोटोकपी गर्न नसक्ने बताउनुभयो ।

उहाँले प्रधानमन्त्री प्रचण्डसँग क्रान्ति र शान्तिको नेतृत्व गर्ने जिम्मेवारी रहेको मन्त्री किरातीले बताउनुभयो ।

लुम्बिनी विकास कोषमा अनेकौं विकृति विसंगती रहेको भन्दै उहाँले विकृति हटाउने बताउनुभयो । उहाँले जेठ १६ गतेदेखि नेपाल वायुसेवा निगमका जहाज गौतमबुद्ध विमानस्थलबाट चल्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा बुद्ध सर्किट बनाउने अवधारणा आएपनि अघि बढ्न नसकेकाले अघि बढाउनुपर्ने बताउनुभयो ।

२५६७औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री चौधरीले बुद्ध सर्किट निर्माणपछि संसारभरका बौद्धमार्गीलाई आकषिर्त गर्न सकिने र यसबाटै प्रदेशको आर्थिक समृद्धिमा टेवा पुग्ने बताउनुभयो ।

बुद्ध सर्किटमा बौद्ध ध्यान केन्द्रहरु निर्माण र हरेक महिना पुजा, अनुष्ठानको माध्यमबाट संसारको ध्यान केन्द्रित गर्न सकिने बताउनुभयो ।

मुख्यमन्त्री चौधरीले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई शान्ति क्षेत्र घोषणा गर्न माग गर्नुभयो ।

लुम्बिनीको धार्मिक पर्यटनबाट देशको आर्थिक विकासमा कायापलट गर्न सकिने औंल्याउँदै मुख्यमन्त्री चौधरीले लुम्बिनी विकास कोषको विनियमावली र विधान संशोधन गरी प्रदेश र स्थानीय सरकारले पनि अपनत्व ग्रहण गर्न सक्ने बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

लुम्बिनी विकास कोषले अहिले स्थानीयलाई जोड्न नसकेको भन्दै मुख्यमन्त्रीले पर्यटकको बसाइ लम्बाउन सरोकारवाला सबैसँग सहकार्य गरेर नीति बनाउन आवश्यक रहेको बताउनुभयो ।

कोषका उपाध्यक्ष अवधेश त्रिपाठी लुम्बिनी, कपिलवस्तु र रामग्रामलाई जोडेर बुद्ध सर्किट बनाएर एकीकृत पर्यटन विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले विश्वभरका करिब ४ अर्ब बौद्ध धर्मावलम्बी रहेको उल्लेख गर्दै उनीहरुलाई बुद्ध सर्किटमा आकर्षित गर्न सकिने बताउनुभयो ।

Back to top button