प्याडभित्र लुकाएर ब्राउन सुगरको तस्करीः विमानस्थलबाटै दिदीबहिनी पक्राउ

विर्तामोड । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागुऔषध ब्राउन सुगरसहित २ जना युवती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेटौडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ (राजवंशी) र दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।

गएराति ९ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीहरूलाई विमानस्थल प्रहरीले शरीर चेकजाँचका क्रममा सोनीको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर फेला परेको डीएसपी रिजालले बताउनुभयो ।

सोनीले गुप्ताङमा लगाएको प्याडमा ब्राउन सुगर लुकाएर काठमाडौं लैजाने प्रयास गरेको पाइएको छ । बहिनी सोनीसँग ब्राउन सुगर फेला परेपछि सँगै काठमाडौं जान लागेकी दिदी सन्ध्यालाई पनि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

Back to top button