हेलिकोप्टर दुर्घटनामा घाइते गुरुङको मृत्यु

खाँदबारी । संखुवासभाको भोटखोला–४ सिप्ररुङको हम्बरेडाँडामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते १ जनाको मृत्यु भएको छ । स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते गुरुङलाई हेलिकोप्टरमार्फत् उपचारका लागि ल्याउने क्रममा तुम्लिङटार विमानस्थलमा मृत्यु भएको हो । आज दिउँसो १ बजेर १० मिनेट जादाँ भोटखोला गाउँपालिका–४ हटिया,सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी क्याप्टेन सुरेन्द्र पौडेल, छिरिङ भोटे, मनोज थापा,विद्युत प्राधिकरणका कर्मचारी विक्रम शंकर गम्भीर घाइते हुनुभएको छ । क्याप्टेनसहित ३ जनाको काठमाडौंको मेडिसिटी अस्पतालमा उचार भइरहेको छ ।

घाइतेमध्ये विक्रम शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सिम्रिक एयरको अर्को हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ ।

हेलिकोप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर जाने क्रममा दुर्घटनामा परेको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताउनुभयो ।

भोटखोला–५ राप्साबाट सामान ढुवानी गर्ने क्रममा आज दिउँसो हेलिकोप्टर दुर्घटना भएको गाउँपालिका अध्यक्ष वाङ छेदर भोटेले जानकारी दिनुभयो ।

Back to top button