मेरो पूरै ध्यान बुद्ध सर्किटको अवधारणामा छ : प्रधानमन्त्री प्रचण्ड

परासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पूरै ध्यान बुद्ध सर्किटको अवधारणामा रहेको बताउनुभएको छ ।

आफू बृहत्तर लुम्बिनी विकास समितिको अध्यक्ष रहँदा लुम्बिनी गुरुयोजनाका विषयमा संयुक्त राष्ट्र संघमा समेत कुरा उठाएको र संयुक्त राष्ट्र संघबाट सहयोग गर्ने प्रतिबद्धता जनाएकाले अब त्यसभित्रको बुद्ध सर्किटको कामलाई तिव्रता दिने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

२५६७औं बुद्ध जयन्तीका अवसरमा रामग्राम नगरपालिकाले आयोजना गरेको बुद्ध अस्तुधातुको रथ यात्रा कार्यक्रमलाई सम्बोधन गर्न आज परासीको रामग्राम स्तुपमा पुग्नुभएका उहाँले उक्त कुरा बताउनुभएको हो ।

‘बृहत्तर लुम्बिनी गुरुयोजनाभित्र लुम्बिनीसँगै रामग्राम, कपिलवस्तु र देवदहलाई समेटिने छ। यसले समग्र देशकै पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा टेवा पुग्छ,’ उहाँले भन्नुभयो।

विश्वको एकमात्र गौतम बुद्धको अस्तुधातु रहेको रामग्रामको विकासका लागि पेस भएको रामग्रामको गुरुयोजना मन्त्रालयमा पेस भएकाले त्यसको कामलाई छिट्टै अगाडि बढाइने उहाँले बताउनुभयो।

रामग्रामको महत्वलाई व्यापक बनाउन नसक्दा ओझेलमा पर्दै गएकाले अब यस क्षेत्रको विकासलाई गतिदिन सरकार लागि पर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ थियो।

देश अहिले आर्थिकरूपमा अप्ठ्यारो स्थितिमा रहेपनि सरकारले त्यसलाई क्रमशः सुधार गर्दै लगेको बताउँदै उहाँले देशमा भएका सबै पर्यटन क्षेत्रलाई आर्थिक विकासमा ल्याएर जोड्नुपर्नेमा जोड दिनुभयो।

यस्तै, कार्यक्रममा रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले रामग्राम ओझेलमा पर्नुमा सरकारले लुम्बिनीलाई मात्र महत्व दिएको बताउनुभयो। रामग्रामको विकासका लागि पेस भएको गुरुयोजनाको कामलाई अगाडी बढाउन पनि नगर प्रमुख यादवले प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो।

प्रधानमन्त्रीको सम्बोधनअघि रामग्राम नगरपालिका क्षेत्रमा रहेको बुद्धसँग सम्बन्धित अर्को स्थल पण्डितपुरबाट बुद्धको अस्तुधातुको अवेशष राखेको रथ यात्राले रामग्राम क्षेत्र परिक्रमा गरेको थियो।

श्रीलंकाबाट पठाइएको उक्र अस्तुधातुको अवेशष लुम्बिनी विकास कोषमार्फत रामग्राममा परिक्रमा गराउन ल्याइएको थियो। बुद्धका ८ अस्तुधातुमध्ये अन्य सबै क्षेत्रका निकालिए पनि रामग्रामको भने निकाल्न नसकेकाले यो क्षेत्रलाई लुम्बिनीपछिको दोस्रो बुद्ध स्थलका ऐतिहासिक रूपमा लिइएको छ।

Back to top button