हजार र पाँचसयका नक्कली नोटसहित सुनसरीमा एक महिला पक्राउ

सुनसरी । नेपाली एक हजार र पाँच सय रुपैयाँ दरको नक्कली नोटसहित प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका १ स्थित आँपगाछीमा लागेको सिरुवा मेलाबाट प्रहरीले ३८ वर्षीया महिलालाई पक्राउ गरेको हो ।

मेलामा सामान किनेर नक्कली नोट दिएपछि पसलेलाई शंका लागेर नजिकैको प्रहरीलाई खबर गरेका थिए । प्रहरीले नक्कली नोट कारोबार गरेको ठहर गरेपछि सुनसरीकै गढी गाउँपालिका २ घर की जमिल खातुनलाई मेलास्थलबाट हिजो साँझ पक्राउ गरेको थियो ।

प्रहरीले खानतलासी गर्दा १ हजार दरका ६ थान र ५ सय रुपैयाँ दरको २२ थान नक्कली नोट बरामद गरेको थियो । प्रहरीले खातुनलाई हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

Back to top button