प्रधानमन्त्री प्रचण्ड र मन्त्री मोदीविरुद्ध बारामा प्रदर्शनः प्रधानमन्त्रीको पुत्ला दहन

बारा । बाराको महागढीमाई नगरपालिकाका स्थानीयले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदापनि सरकारले चासो नदेखाएको भन्दै स्थानीय जनताले प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका हुन।

सयौंको संख्यामा भेलाभएका स्थानीयबासीले प्रधानमन्त्रीको पुत्लामा आगो लगाउँदै नाराबाजी गरेका थिए । पुत्लादहन भएपछि प्रहरीले आगो निभाएको थियो ।

प्रधानमन्त्रीको पुत्ला दहनसँगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीको समेत राजीनामा समेत मागेका छन् ।

यसअघि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले प्रधानमन्त्रीसहित गठबन्धन दलका शीर्षस्थ नेतालाई भेटेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा पनि सुनुवाई नभएको भन्दै सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६ सय ५८ जना ले चार महिनादेखि तलब पाएका छैनन् भने नगरपालिकाको योजनाको काम समेत प्रभावित बन्न पुगेको छ ।

प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चालु आर्थिक वर्षमा पाँच प्रतिशत मात्रै योजनाको सम्झौता भएको छ । नगर प्रमुख यादवले प्रमुख प्रशासकीय अधिकृत चार महिना नहुँदा झण्डै एक अर्बको बजेट फ्रिज हुन लागेको बताउँदै आउनुभएको छ ।

Back to top button