पूर्वाञ्चल बिश्वबिद्यालयमा सुबिधासम्पन्न सभाहलको शिलन्यास

सुनसरी । पूर्वाञ्चल विश्वविद्यालयमा सुबिधासम्पन्न सभाहल निर्माणका लागि शिलन्यास गरिएको छ । बिश्वबिद्यालय परिसरमा बन्न लागेको ७ सय ५० सीट क्षमताको सभाहलसँगै बैंकिङ कारोबारलाई सहज बनाउन नबिल बैंकको शाखा कार्यलयको समेत शिलन्यास गरिएको छ ।

नबिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त सभाकक्ष बनाईदिन लागेको हो । सभाकक्ष र बैकको शाखा कार्यलयको शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्री तथा विश्वविद्यालयका सह–कुलपती अशोक राई र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रूपमा शिलन्यास गर्नुभएको हो ।

शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री राईले विश्वविद्यालयहरुलाई बढी राजनितिकरण गरिएको बताउनुभयो । राजनितिक भागबण्डाको आधारमा पदाधिकारी नियुक्त हुने परिपाटीको अझै अन्त्य गर्न नसकिएको भन्दै मन्त्री राईले भागबण्डाले विश्वविद्यालयमा बिकृती आएको बताउनुभयो ।

विश्वविद्यालयमा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुले बढी राजनिति गर्दा विश्वविद्यालयलाई घाटा भइरहेको भन्दै मन्त्री राईले शिक्षाक्षेत्र सुधारका लागि कतिपय ऐन कानून बन्न नसकेकाले आउदो अधिबेशनमा रोकिएका ऐनलाई पेश गर्ने बताउनुभयो ।

विश्वविद्यालयहरुले सधै अनुदानको भरमा चल्नेभन्दा पनि आत्मनिर्भर बन्ने चेष्टा गर्नुपर्ने मन्त्री राईको सुझाव छ । उच्च शिक्षाको लागि विदेशीने प्रबृत्तीको अन्त्य गर्न विदेशमा उत्तम, स्वदेशमा खत्तम भन्ने सोचलाई बदल्न विश्वविद्यालयहरुले समय सापेक्ष गुणस्तरिय शिक्षाको ब्यवस्था गर्नुपर्ने बताउनुभयो ।

२३ वर्षदेखी शिक्षक दरबन्दी मिलान गर्न नसकिएको जनाउदै बालकक्षा, राहत र करार शिक्षकको समेत समस्या कायमै रहेको मन्त्री राईले बताउनुभयो ।

विश्वविद्यालयका उपकुलपति प्राडा यादवराज कोइराला र रजिष्टार नीलमणी पोखरेलले चिकित्सा शिक्षा सञ्चालनको लागि सरकारबाट अनुमति पाएसँगै मेडिकल कलेज सञ्चालनको लागि थप साधन श्रोत आवश्यक पर्ने भएकाले उपलब्ध गराइदिन आग्रह गर्नुभयो ।

आगामी शैक्षिक सत्रदेखी एमबीबीएस कक्षा सञ्चालन गर्ने तयारी गरेको विश्वविद्यालयलाई सबैको साथ सहयोगको आवश्यकता रहेको उहाँहरुले बताउनुभयो ।

लामो समयदेखी मेडिकल कक्षा सञ्चालनको अनुमती कुरेर बसेको विश्वविद्यालयले यसैबर्ष मात्र अनुमती पाएको भन्दै सबैको सहयोग भए आगामी शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्न सकिने पदाधिकारीहरुको भनाई छ ।

Back to top button