प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

आज बिहान सिंहदबारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्ड र पूर्वप्रधानमन्त्री ओलीबीच समसामयिक राजनीतिक, आगामी आर्थिक वर्षको बजेट र भुटानी शरणार्थी प्रकरणबारे छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ।

सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबारबाट बजेट अधिवेशन आह्वान गर्नुभएको छ । यसैगरी एमाले, कांग्रेसलगायतका शीर्ष नेताहरु भुटानी शरणार्थी प्रकरण मुछिएपछि प्रधानमन्त्रीसँग ओलीको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भइसकेको छ।

‘निर्दोष पर्नुहुँदैन, दोषी उम्किनु हुँदैन। दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।’ओलीले यस अगाडि प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारमाध्यममा भन्नुभएको थियो,‘निर्दोष फसाउन खोजियो भने हामी सहँदैनौँ।’

एमालेले निष्पक्ष छानविन गर्नुपर्ने र राजनीतिक प्रतिशोधका आधारमा एमालेका नेतालाई पक्राउ गर्ने तर उक्त प्रकरणमा परेका सत्ता गठबन्धनका नेतालाई जोगाउने नीति लिए सह्य नहुने चेतावनी दिएको छ।

एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग गठबन्धन प्रचण्डले बनाएपछि टाढिएका २ नेताबीच पछिल्लो समय लगातार भेट भइरहेको छ।

प्रचण्डले दोस्रो पटक विश्वासको मत लिँदा सरकारलाई समर्थन गरेको रास्वपाले हिजो मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

एमाले र रास्वपाले नयाँ सरकार बनाउन एक अर्कालाई प्रस्ताव गरेको र नयाँ गठबन्धन बन्ने चर्चा चलेपछि एमाले अध्यक्ष ओली र रास्वपा सभापति रवि लामिछानेले त्यस्तो तयारी नभएको बताउनुभएको छ ।

Back to top button