नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारवाही गर्न खुट्टा कमाउन हुदैनः माधवकुमार नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उहाँले साना ठुला सबैलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले सरकारले घटनामा संलग्न दोषीलाई बचाउन आउने उच्च दबाबसामू झुक्न नहुने बताउनुभयो । ‘बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याएर सजायको भागिदार बनाउनुपर्छ’ नेता नेपालले भन्नुभयो ।

नक्कली शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी, उपाध्यक्ष रामबहादुर थापाका कानुनी सल्लाहकार इन्द्रजित राई, पूर्व गृह सचिव टेकनारायण पाण्डे, केशव दुलाललगायत मुछिनुभएको छ ।

Back to top button