एमाले अध्यक्ष ओलीको प्रधानमन्त्री प्रचण्डलाई प्रश्नः नक्कली शरणार्थी प्रकरणमा कसले छानबिन नगर्न दवाव दियो?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा प्रधानमन्त्रीलाई कसले छानबिन नगर्न दबाब दियो भनेर प्रश्न गर्नुभएको छ ।

आज संसदीय दलको बैठकबाट ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छानविन नगर्न कसले दबाब दिएको हो भन्दै प्रश्न गर्नुभएको हो ।

हिजो सिंहदरबारमा एमाले अध्यक्ष केपी ओलीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा भइरहेको छानबिन कसैको दबाबमा नरोकिने अभिव्यक्ति दिएपछि ओलीले यस्तो बताउनुभएको हो ।

ओलीले एमालेका सांसदहरुले यस अगाडि देखि नै नक्कली शरणार्थी प्रकरणबारे संसद बैठकमा कुरा उठाउँदा सरकारले नसुनेको बताउनुभयो ।

‘यस कुरामा हामीले सरकारलाई सचेत गराइरहेका छौं। हामीले सरकारको ध्यानाकर्षण गराइरहेका छौं।’ ‘म झुक्दिनँ, दबाबमा पर्दिनँ। कसले दबाब दियो ? मलाई बोलाएर भेट्ने, विभिन्न विषयमा कुरा गर्ने । म निस्किएपछि कसैको दबाबमा पर्दिनँ भन्दै फुँइ लगाउने ?’ उहाँले भन्नुभयो, ‘म प्रचण्डजीलाई भन्न चाहन्छु पछि हट्नुस । कसले भन्यो झुक्नुस् ? कसले दबाब दियो ? मैले कसलाई बचाइदिनुस्, छानबीन नगर्नदिनुस्, कारबाही नगर्नुस् भनेँ ? मैले त भनेको छु कडाई साथ छानबीन गर्नुस्, कारवाही गर्नुस्।’

ओलीले यस प्रसंगमा एमालेका विरुद्ध खेल्ने दुष्प्रयास नगर्न आग्रह गर्नुभयो ।

Back to top button