संखुवासभामा एकै घरका चार बालबालिका अचेत अवस्थामा फेला

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–९ खाम्लिङमा चार बालबालिका अचेत अवस्थामा फेला परेका छन्। आज बिहान चैनपुर–९ खाम्लिङमा चारजना बालबालिका अचेत अवस्थामा फेला परेका हुन्।

चैनपुर–९ खाम्लिङका मनबहादुर तामाङका चारजना छोराछोरी अचेत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

प्रहरीका अनुसार मनबहादुरका छोरा ९ वर्षीय मनध्वज, ८ वर्षीय राजेन्द्र , ५ वर्षीय निमसाङ र छोरी ३ वर्षीया सुपरिना घर नजिकै अचेत अवस्थामा फेला परेका हुन् ।

बिहान घरमै छाडेर मेलापात गएका मनबहादुर घर फर्किदा छोराछोरीहरू अचेत अवस्थामा फेला परेपछि प्रहरीलाई खवर गरेका थिए। उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ।

अचेत अवस्थामा फेला परेको एक छोरा र एक छोरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूले जंगली खाने कुरा खाएर अचेत भएको हुनसक्ने प्रहरीको अनुमान छ।

Back to top button