क्यान्टनमेन्टको घोटलाकाण्डको फाइल खोल्न प्रधानमन्त्री प्रचण्डलाई राप्रपा अध्यक्ष लिङदेनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले ठूला भ्रष्टाचारका फाइलहरु खोल्दा सरकारलाई आफ्नो पार्टीको समर्थन रहने बताउनुभएको छ ।

आज राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन गर्दै उहाँले नक्कली भुटानी शरणार्थी सम्बन्धी ठगी प्रकरणमा सरकारले अघि बढाएको अनुसन्धानको प्रशंसा गर्नुभएको छ । यस्तै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लडाकु शिविरमा भएको भनिएको घोटाला फाइल समेत खोल्न चेतावनी दिनुभयो ।

अध्यक्ष लिङदेनले भन्नुभयो, ‘क्यान्टनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुपर्‍यो । तर भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण गर्‍यो भने लामो समय पत्याइदैन ।’ भ्रष्टाचारका घटनामाथिको अनुसन्धान देखाउनका लागि मात्र हुन नहुने उहाँले बताउनुभयो ।

देश आर्थिकरुपमा टाट पल्टने अवस्थामा रहेपनि सरकारले अर्थतन्त्र सुधारका लागि कुनै कदम चाल्न नसकेको आरोप लगाउनुभयो । ऋण काढेर अहिले कर्मचारीलाई तलव खुवाउनुपर्ने, ८० अर्बभन्दा बढी निर्माण व्यवसायीहरुलाई राज्यले भुक्तानी तिर्ने अवस्थामा देश पुगेको भन्दै अध्यक्ष लिङदेनले भन्नुभयो, ‘यो अर्थतन्त्रलाई सुधार गर्ने दिशातर्फ सरकारका कुनै कदमहरु छैन । सरकार कुहिरोमा हराएको कागजस्तो अवस्थामा छ ।’

Back to top button