रनवेमा श्री एयरको जहाज रोकिएपछि भैरहवा उडेको यती एयरको विमान काठमाडौं फर्कियो

भैरहवा । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको जहाज पुनः काठमाडौं फर्किएको छ। भैरहवा विमानस्थलको रनवेमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्सको जहाज रोकिएपछि यतीको जहाज भैरहवा अवतरण गर्न नसकेर काठमाडौं फर्किएको हो।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विनोद राउतले श्री एयरलाइन्सको जहाज रनवेमा रोकिएपछि केही बेर विमानस्थल बन्द हुँदा यतीको जहाज काठमाडौं डाइभर्ट भएको जानकारी दिनुभयो।

‘विमान रनवेमा रोकिएपछि केही बेर रनवे बन्द गरेका थियौँ,’ उहाँले भन्नुभयो,‘त्यही बेला काठमाडौंबाट आएको यति एयरलाइन्सको विमान आइपुगेको थियो,रनवे बन्द गरिएकाले यतिको विमान पुनः काठमाडौंतर्फ डाईभर्ट भएको थियो । अहिले रनवे सुचारु भइसकेको छ ।’

भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको थियो। उडेको १८ मिनेटमै पुनः भैरहवा विमानस्थलमै अवतरण गरिएको थियो।

आकाशमा उडिरहेको जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा फर्काइएको थियो।

अहिले जहाजमा रहेका यात्रुहरूलाई डिपार्चर कक्षामा राखिएको छ। सबै यात्रुहरू सकुशल छन्। अतवरण गरिएको जहाज अन्तर्राष्ट्रिय टरमिनल तर्कको पार्किङमा राखिएको र रन वे क्लियर भएपछि विमानस्थल सुचारू हुनेछ। जहाजमा २ बालकसहित ७५ जना यात्रु थिए।

भैरहवाबाट बिहान ९ः३९ बजे काठमाडौं उडेको जहाज ९ः५७ बजेमै भैरहवा अवतरण गरिएको हो।

Back to top button