सरकार अर्थतन्त्रका चुनौतीप्रति बेखबर बन्योः विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार अर्थतन्त्रका चुनौतिप्रति बेखवर रहेको आरोप लगाउनुभएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले पेश गरेको विनियोजन विधेयक सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री समेत रहनुभएका पौडेलले देश मन्दीमा गइरहेको बेला सरकारले देशको अर्थतन्त्र मन्दीमा गएको कुरालाई नस्वीकारेको बताउनुभएको हो ।

राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको तथ्याकंमा नेपालको अर्थतन्त्रको अवस्था मन्दीको छ भनेर औंल्याएपनि सरकार बेखबर बनेको उहाँले बताउनुभयो ।

उहाँले नेपाली अर्थतन्त्र मन्दीमा भएको तथ्यलाई स्वीकार गर्दै बजेट प्रस्तुत हुनुपर्ने तर्क गर्दै पौडेलले भन्नुभयो,‘सत्यलाई जस्ताको त्यस्तै प्रस्तुत गर्नुपर्छ । प्रस्तुत सिद्धान्त र प्राथमिकता चुकेको छ । अर्थतन्त्रका परिसूचकहरु एकदमै कमजोर छन् । यसअघिको बजेटमा आर्थिक वृद्धिदर ८ प्रतिशत भनिएको थियो । तर, राष्ट्रिय तथ्याकं कार्यालयका अनुसार अहिले नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको छ ।’

चालु आर्थिक वर्षको राजस्व परिचालन एकदमै कमजोर रहेको भन्दै उहाँले निजी क्षेत्र अत्यन्तै त्रासमा बाँचिरहेको, लघुवित्त र सहकारी क्षेत्रको अवस्था अत्यन्तै विकराल बनको र मुलुक आर्थिक मन्दीमा रहेको बताउनुभयो ।

यस्तो बेला सार्थक पहल लिन नसके आर्थिक रुपमा नेपाल ठूलै जोखिममा पर्ने भन्दै उहाँले आर्थिक क्षेत्रलाई चलायमान बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली अर्थतन्त्रलाई कसले त्रासदीपूर्ण वातावरणमा पुर्‍यायो ? भन्ने प्रश्न गर्दै यस विषयमा पनि छलफल जरुरी रहेको बताउनुभयो ।

Back to top button