देशको अर्थतन्त्र तीन दशककै कमजोरः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा सांसद रवि लामिछानेले देशको अर्थतन्त्र अहिले असाधारण अवस्थामा रहेको बताउनुभएको छ ।

बजेट अधिबेशनको दोस्रो दिनको बैठकमा बोल्दै लामिछानेले नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको बताउनुभयो । विगतका वर्षमाझैं ‘गरिनेछ’ ले भरिएको भन्दै उहाँले विगतका भन्दा तात्विक भिन्नता नरहेको दस्तावेज अर्थमन्त्रीले पेश गरेको टिप्पणी गर्नुभयो ।

उहाँले यो दस्तावेजमा केहि शब्द र वाक्यको हेरफेर गरिपनि नियमित कर्मकाण्डीका रुपमा आएको बताउनुभयो । ‘बजेटमा गर्छौं भन्ने हो भने त्यो गरेरै छाड्नुपर्छ, आशाका पुलिन्दामात्रै पस्किन हुदैन’, उहाँले भन्नुभयो, ‘यदि गरिएन भने किन भएन त्यो सार्वजनिक हुनुपर्छ ।’

उहाँले सरकारको प्रक्षेपण गर्ने अवस्था एकदमै कमजोर रहेको बताउनुभयो । यस वर्षको आर्थिक वृद्धिदर ३ दशकको नै कमजोर रहेको भन्दै लामिछानेले आर्थिक वर्ष सकिन लाग्दा पनि ५१ प्रतिशतमात्रै राजस्व उठेकाले असफल नीतिलाई निरन्तरता दिने कि नयाँ केही गर्ने भनेर उहाँले प्रश्न गर्नुभएको छ ।

Back to top button