चीनको तीब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई ड्रोन सहयोग गर्ने

काठमाडौं । चीनको तीब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई २१ वटा ड्रोन सहयोग गर्ने भएको छ। आज चिनियाँ राजदूत छन् सोङले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटका क्रममा सो प्रतिबद्धता जनाउनुभएको हो ।

राजदूत सोङले उक्त ड्रोनहरू छिट्टै नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने बताउनुभएको गृहमन्त्रीको सचिवालयको जनाएको छ।

उपप्रधानमन्त्री श्रेष्ठले पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनका लागिसमेत सम्बन्धित निकायसँग आग्रह गर्ने बताउनुभयो। उहाँले २ देशको सीमा जोडिएका जिल्लाहरूमा समकक्षी बैठक निरन्तर हुनुपर्ने र सीमामा कार्यरत २ देशका पदाधिकारीहरूको सम्पर्क र समन्वय सघन बनाउनुपर्ने बताउनुभयो।

विगतमा सीमाक्षेत्रमा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई पास प्रदान गर्ने गरेको र उक्त व्यवस्थाले सीमा क्षेत्रका बासिन्दाहरूको दैनिक जीवन सहज बनाएको भन्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त व्यवस्था पुनः सुचारु गर्न पहल गरिदिन आग्रह गर्नुभएको थियो।

Back to top button