चीनलाई साइपल, तिन्कर, रुइला र मुगुमा नाका खोल्न गृह मन्त्रालयको ताकेता

काठमाडौं । सरकारले नेपाल–चीनका केही नाका खोल्न ताकेता गरेको छ। गृह मन्त्रालयले नेपालस्थित चिनियाँ राजदूतमार्फत् बन्द रहेका केही नाखा खोल्न ताकेता गरेको हो।

आज उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजदूत छन् सोङलाई बझाङको साइपल, दार्चुलाको तिन्कर, गोर्खाको रुइला र मुगुमा व्यापार नाका खोल्नेतर्फ पहल गर्न आग्रह गर्नुभएको छ ।

उहाँले तातोपानी, रसुवा तथा हिल्सा नाका सञ्चालमा आएकोमा खुसी व्यक्त गर्नुभएको थियो। राजदूत सङले आफूले त्यसको पहल गर्ने विश्‍वास दिलाउनुभएको थियो। सीमा क्षेत्रका पदाधिकारीहरूको सम्पर्क सघन बनाउने र समकक्षी बैठक गरिरहनुपर्ने उपप्रधानमन्त्री श्रेष्ठको रायमा आफू पनि सहमत रहेको उहाँको भनाइ छ।

राजदूत सोङले नेपालले सधैं एक चीन नीतिको समर्थन गर्दै आएकोमा धन्यवाद दिनुभएको थियो। उहाँले नेपाली भूमिलाई चीनविरोधी गतिविधिमा प्रयोग हुन नदिन र नेपालमा रहेका चिनियाँ लगानी र सम्पत्तिको सुरक्षामा नेपालको गृह प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो।

Back to top button