कोसी अस्पतालमा जन्मिए शरीर जोडिएका जुम्ल्याहा बालिका

विराटनगर । विराटनगरको कोसी अस्पतालमा एक महिलाले शरीर जोडिएका जुम्ल्याहा बालिका जन्माएकी छन् । अस्पतालले यस्तो शिशु पहिलोपटक जन्मिएको जनाएको छ ।

सप्तरीको कल्याणपुर घर हुने ३७ वर्षीया दुखनीदेवी भगत चौधरीले शरीरको अगाडिको भाग जोडिएका जुम्ल्याहा सन्तान जन्माउनुभएको हो । छातिदेखि पेटसम्मको भाग जोडिएका दुवै सन्तान छोरी हुन् । जन्मिँदा तौल ३ दशमलव ४ किलोग्राम थियो ।

स्वास्थ्य अवस्था सामान्य रहेका जुम्ल्याहाको छातिदेखि माथि र पेटदेखि मुनिको भाग भने अलग–अलग छन् । टाउको, मुख, आँखा, नाक, कान, हात र खुट्टालगायतका बाहिरी अंगहरु जोडिएका छैनन् । जुम्ल्याहा बालिका जन्माउनुभएकी चौधरीले प्रष्टसँग आफ्नो घर–ठेगाना बताउन सकिरहनुभएको छैन् ।

परिवारका सदस्य र आफन्त पनि अस्पतालको सम्पर्कमा आइपुगेका छैनन् । जसका कारण घर–ठेगाना,परिवारका सदस्य,आफन्तदेखि लिएर सुत्केरीको अन्य पृष्ठभूमि यकिन गर्न अस्पताललाई मुस्किल परिरहेको छ ।

उहाँले आफू सिरहाको लाहानमा डेरा गरेर बस्ने र श्रीमान आनन्द भगत चौधरीले त्यहीँ मिठाई बनाउने काम गर्ने गरेको बताउनुभयो । उहाँले आफू बिरामी परेपछि छिमेकी राधादेवी मण्डलले अस्पतालसम्म ल्याइदिएको र छोरा बिरामी परेकाले उहाँ पनि फर्किनुभएको बताउनुभयो ।

‘मलाई यस्तो भएको सुनेपछि अर्काको मोटरसाइकल मागेर श्रीमान आउँदै हुनुहुन्थ्यो । तर, दुर्घटनामा परेर राजविराज अस्पतालमा भर्ना हुनु भयो भन्ने सुनें,’उहाँले भन्नुभयो,‘उहाँको खुट्टा भाँचियो अरे । अरु आफन्तले हामीलाई सहयोग गर्दैनन् ।’

उहाँले यसअघिका आफ्ना २ सन्तान छोरी रहेको बताउनुभयो । ‘एउटी १० वर्षजति कि छन् । उसले केही सहयोग गर्नसक्ने कुरै भएन,’चौधरीले भन्नुभयो,‘अर्कीको बिहे भइसक्यो । उसको पनि नानी हुँदैछ ।’

चिकित्सकको निगरानीमा जुम्ल्याहा सन्तानसहित चौधरीलाई प्रसूति वार्डमा राखेर अस्पतालले नै उपचार गरिरहेको छ । अरु बिरामीका कुरुवाले चौधरीको स्याहार गरिरहेका छन्। कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रविनराज सिंहका अनुसार सुत्केरीको आर्थिक अवस्था अति नै कमजोर देखिन्छ ।

Back to top button